ON AIR

अनिश्चितकालीन लिखु गाँउपालिका बन्द तेश्रो दिनमा

|Views: 192

३ माघ, नुवाकोट । लिखु गाँउपालिका हटाएको बिरोधमा सुरु भएको अनिश्चितकालीन बन्द आज तेश्रोपनि जारी रहेको छ । पहिलो दिन आइतबारको तुलनामा दोश्रो दिन हिजो जस्तै आज तेश्रो दिनपनि बन्दमा सहभागि उल्लेख्य रुपमा बृद्धि भएका छन । मुख्य स्थानमा केन्द्रित भएका बासिन्दाहरु बन्द घोषणा गरेको गाविसको सबै स्थानमा पुगेर यातायात सञ्चालन लगायतको सेवा प्रवाह ठप्प बनाइरहेका छन् ।
जिल्ला प्राविधिक सहयोग समिति नुवाकोटले स्थानीयतहको पुर्नसंरचना आयोगर्लाइ पेश गरेको प्रतिवेदनलाई परिवर्तन गरी सरकारलाई बुझाएको बिरोधमा “लिुख गाँउपालिका बचाउ सयुक्त संघर्ष समिति” नै गठन गरी सुरु गरेको बन्दको तेश्रो दिन आजपनि बिहानैदेखि टोखा–छहरे सडक खण्ड र गंगटेबाट ढिकुरे हुदै खरानीटार–समुन्द्रटार जाने सडक खण्डमा यातायात सेवा अबरुद्ध बनाइरहेका छन् ।
बिहानैदेखि स्थानीयवासी स्वतः स्फुर्त रुपमा भेला भएर आयोजना गरेको बन्दले पुर्ननिर्माण अभियानसंग जोडिएको कार्यक्रम बाहेक बाँकी “फोटो सहितको मतदाता नामावली संकलन”, शैक्षिक सस्था, सामाजिक सँस्थाहरुको तालिम तथा सेवा प्रवाहको काम ठप्प बनाइरहेका छन् ।
प्रस्तावित लिखु गाँउपालिका भित्र पर्ने गाविसहरु थानसिंह, चौघडा, सुर्यमती र खानीगाँउ गाविसका राजनैतिक दलका अगुवाहरुको नेतृत्वमा स्थानीयवासीहरुले बन्दलाई निरन्तरता दिएका छन् । प्रस्तावित लिखु गाँउापालिका कार्यान्वयन नआएसम्म आन्दोलन जारी रहने “लिखु गाँउपालिका बचाउ सयुक्त संघर्ष समिति”का संयोजक धर्मप्रसाद अधिकारीले बताउनुभएको छ ।
दोश्रो दिनको आन्दोलनको सपमान हिजो साँझ समापन सम्बोधन गर्दै जनतालाई अधिकार प्रदान गर्ने स्थानीयतहको पुर्नसंरचनाले उल्टै केही सिमित व्यक्तिले अधिकार खासेपछि सुरु भएको अन्दोलन अनवरत रुपमा चल्ने उद्घोष गर्नुभएको छ ।  
जिल्ला प्राविधिक सहयोग समिति नुवाकोटले थानसिंह, सूर्यमति र खानीगाँउ गाविस पूरै र चौघडाको आधा भागलाई समावेश गरी लिखु गाँउपालिका प्रस्ताव गरी पठाएपनि राज्य पुर्नसंरचना आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा लिखु गाँउपालिका नै गायब बनाएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।
विभिन्न असहमतिका बाबजुत तयार गरेको लिखु गाँउपालिकाको प्रस्तावलाई आफूहरुले स्वीकार गरी कार्यान्वयनको तयारी गरिरहदाँ आयोगले व्यक्ति विशेषको प्रभावमा परी संबैधानिक आयोगले असंबैधानिक काम गरेको भन्दै स्थानीयवासीले जिल्लादेखि केन्द्रसम्म ध्यानाकर्षण गराउदै आन्दोलनमा उत्रिएका छन् । आफूहरुको सम्बोधनको पहल नभएको भन्दै संघर्ष समिति गठन गरी अनिश्चितकालीन बन्दको घोषणा गर्न बाध्य भएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य पूर्णलाल श्रेष्ठले बताउनुभएको छ ।
जनतालाइ स्थानीयस्तरबाट नै सेवा पु¥याउन तथा शक्तिको विकेन्द्रीकरणको लागी स्थानीय तहको पुर्नसंरचना गर्न लागिएपनि जनताको भावना विपरित आयोगले गरेको कदम नसच्याएसम्म आन्दोेलन जारी रहने खानीगाँउका स्थानीय समेत रहनुभएका नेकपा एमालेका शहरी विकास विभागका केन्द्रीय सदस्य श्रेष्ठले बताउनुभएको छ । .
लामो समयको छलफल तथा स्थानीय जनताबाट लिएको सुझावको आधारमा तयार गरेको लिखु गाँउपालिकाको प्रस्तावलाई संबैधानिक भनिएको आयोगबाट भएको असंबैधानिक कदम विरुद्ध चार गाविसका बासिन्दाहरु सडक तथा मुख्य जमघट हुने स्थानमा भेला भएर नाराबाजी सहित राज्य पुर्नसंरचना आयोग विरुद्ध नराबाजी गर्दै आएका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने सयुक्त संघर्ष समितिका सदस्य तथ नेपाली काँग्रेस थानसिंह सभापति बिनोद पाठकले बताउनुभएको छ ।  
अनिश्चितकालीन बन्द आह्वान गरेका प्रस्तावित लिखु गाँउपालिकाबासीको माग सम्बोधनको पहल गराउन तथा सम्बन्धित स्थानमा पु¥याउन समन्वयन गर्न नुवाकोट प्रशासन लगायतका निकायले बेवास्था गर्दा आन्दोलन थप चर्कदै गएको छ । जिल्ला प्राविधिक सहयोग समिति समेत प्रतिवेदन बुझाएपनि निष्क्रिय रहेकाले स्थानीयवासीको मागको सम्बोधन गराउन सम्बन्धित निकायहरु मौन रहदाँ बन्द क्षेत्र भन्दा बाहेकका गाविसका नागरिकहरुलाई पुगेको समस्यामा राज्य निरिह देखिएको छ ।
खरानीटार, समुन्द्रटार, रामती लगातयको स्थानसम्म जाने यातायात सञ्चालन नहुदाँ नागरिकहरु घेराबन्दीमा परेका छन् । आन्दोलनरतहरु पनि अघिल्लो दिनको तुलनामा हुदै गएको बृद्धिले राज्य विरुद्ध नै विश्रृङ्खलता बढ्ने संकेत देखिएपनि समयमै समाधान गर्न सम्बन्धित निकायहरु जिम्मेवारी विमुख देखिएका छन् ।
 राज्य पुर्नसंरचना अन्तरगत जिल्ला प्राविधिक सहयोग समिति नुवाकोटले पठाएको पेश गरेको प्रतिवेदनलाई केही व्यक्तिको स्वार्थमा लागेर लिखु गाँउपालिका गायब बनाएपछि लिखु गाँँउपालिका सहित अन्य स्थानमा पनि आन्दोलन सुरु भएको छ । बेलकाटेगढी नगरपालिका टुक्राउदै गाँउपालिका बनाएको र कोल्पु नामक अर्को गाँउपालिका समेत स्थापना गरी आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि त्यस क्षेत्रमा पनि संघर्ष समिति बनाएर बिरोधको कार्यक्रम सञ्चालन गर्न स्थानीयवासी तयारीमा जुटेका छन् ।